हैन यो सत्य युग,
यहाँ धर्म को छैन बास
पवित्र बन्धन को के गर्नु आस
यहाँ छैन आफ्नै मान्छे को विश्वास।
छैनन् याहाँ माता पार्वती जस्ती आमा,
जसले गर्न खोजिन् छोराको लागि
संसार को बलिदान
भेटिन्नन् याहाँ श्री गणेश जस्ता सन्तान
जसले मान्थे आमा बुवा लाई संसार सम्मान।
हैन यो त्रेता युग
यहाँ सत्य को छैन बास
बरु बाहिरीले देलान् दुःख मा साथ
तर आफ्नै मान्छेले गर्छन् विश्वासघात।
छैनन् यहाँ हनुमान जस्ता भक्त
बनाए जसले लङ्का लाई खरानी
भेटिन्नन् यहाँ रावण जस्ता दाजु
दिए जसले बहिनीको लागि ज्यान
संकोच नमानी।
हैन यो द्वापर युग
यहाँ प्रेम को छैन बास
माया को प्रपञ्च रच्छन् मान्छे ले यहाँ
र धेरै बन्ने गर्छन् त्यसैमा जिउँदो लास
छैनन् यहाँ राधा कृष्ण जस्ता प्रेमी
दिए जसले एक अर्काको लागि प्रेम को बलिदान
पाइन्नन यहाँ भीष्म जस्ता रक्षक
गरे जसले आफ्ना को रक्षा सुनेर आफ्नै अपमान
त्रास - त्रास मै बित्छ सबको जीवन
मिथ्या बनेको छ सुखको नाम
यहाँ जप्ने गर्छन् मान्छे मुखमा हरे राम
नीयाल्ने हो भने देखिन्छ व्यवहार मा दानव को काम
गर्छन् याहाँ आफ्नैले आफ्ना को शोषण
विषालु बनेको छ सम्बन्ध सबै
म वर्णन गर्दैछु यो समयको ,
भन्छन् कलियुग जसलाई।
- समीर भट्टराई